कार्यस्थललाई कोभिड-१९ बाट सुरक्षित राखौं

कोभिड-१९ को प्रकोपसँगै अति आवश्यकीय वस्तु उत्पादनसँग सम्बन्धित उद्योगधन्दाहरु खुल्ने क्रम शुरु भएको अवस्थामा यस्ता उद्योगधन्दालाई कसरी कोभिड-१९ बाट सुरक्षित कार्यस्थलको रुपमा रुपान्तरण गर्ने भन्ने सन्दर्भमा २०७७ साल जेठ ५ गते एउटा अनलाइन गोष्ठी संचालन गरियो |

सो गोष्ठीमा ग्रील तथा स्टिल व्यवसायी लगायत औद्योगिक प्रशिक्षार्थी तालीम संचालनमा साझेदार तालीम केन्द्रका प्रतिनिधि, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (CTEVT) तथा दिगो तथा सम्मानित रोजगारीको लागि सीप (ENSSURE) परियोजनाबाट गरी जम्मा ७० जनाले सहभागिता जनाएका थिए | तीन घण्टासम्म चलेको सो गोष्ठीमा स्वास्थ्यविज्ञ र व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा विशेषज्ञ द्वयले छुट्टाछुट्टै प्रस्तुति दिनुभएको थियो |

स्वीटजरल्याण्ड सरकार तथा नेपाल सरकारको दुई पक्षीय सम्झौतामा संचालित ENSSURE परियोजनाले कोभिड-१९ बाट कार्यस्थललाई कसरी सुरक्षित राख्ने भन्ने आशयले आयोजना गरेको उक्त शुरुवाती प्रयास अत्यन्तै लाभदायक भएको ग्रील तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष श्री मोहन कटुवालले बताउनुभयो |

उहाँले आफूहरुले सिकेका कुरालाई तत्कालै व्यवहारमा उतारी कार्यस्थललाई कोभिड-१९ तथा अन्य संक्रमणबाट मुक्त राखी सबै कामदारलाई सुरक्षित तवरले काम गर्ने गराउने वातावारण तयार गर्ने काम शुरु गरिहाल्ने घोषणा पनि गर्नुभयो |

स्वीटजरल्याण्ड सरकार (SDC), CTEVT, Helvetas र ENSSURE का टिमलाई धन्यवाद दिदै उहाँले यस्ता कार्यक्रमलाई अझ धेरै उद्योग तथा व्यवसायसम्म पुर्‍याउन सहयोग लागि पनि आग्रह गर्नुभयो |