सुरक्षित कार्यस्थलका लागि चेतनामूलक कार्यक्रम

काठमाण्डौं । २०७७ जेठ १५ गते

कोभिड-१९ को महामारीका बीचमा पनि उद्योगधन्दाहरु खुल्ने क्रम शुरु भएको सन्दर्भमा यिनलाई सुरक्षित कार्यस्थलका रुपमा सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले २०७७ साल जेठ १५ गते एक अनलाइन गोष्ठी सञ्चालन गरियो |

नेपाल अटो मेकानिक्स व्यवसायी संघका सदस्यहरु तथा पदाधिकारीहरु, दिगो तथा सम्मानित रोजगारीको लागि सीप (ENSSURE) परियोजनासँग सम्बद्ध प्राविधिक शिक्षालयहरु तथा तालीम प्रदायक संस्थाहरु, ENSSURE परियोजनासम्बद्ध प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (CTEVT), तथा परियोजनाको प्राविधिक सहयोगी हेल्भेटास नेपालका कर्मचारी र यसका राष्ट्रिय निर्देशक डा श्री भरतकुमार पोखरेललगायत ९० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

करिब तीन घण्टासम्म चलेको सो गोष्ठीमा स्वास्थ्यविज्ञ डा श्री लीला पौडेल र व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा विशेषज्ञ श्री दिनेशप्रसाद साहले छुट्टाछुट्टै प्रस्तुति दिनुभएको थियो |

स्वीटजरल्याण्ड सरकार तथा नेपाल सरकारको दुई पक्षीय सम्झौतामा सञ्चालित ENSSURE परियोजनाले आयोजना गरेको उक्त प्रयास अत्यन्तै सान्दर्भिक र लाभदायक भएको नेपाल अटोमेकानिक व्यवसायी संघका अध्यक्ष श्री ठाकुरप्रसाद नेउपानेले बताउनुभयो |

स्वीटजरल्याण्ड सरकार (SDC), CTEVT, Helvetas र ENSSURE का टिमलाई धन्यवाद दिदै उहाँले आफूहरुले सिकेका कुरालाई तत्कालै व्यवहारमा उतार्ने बताउनुभयो । कार्यस्थललाई कोभिड-१९ तथा अन्य संक्रमणबाट मुक्त आफू, आफ्ना कामदार र ग्राहकहरुलाई सुरक्षित राख्नका लागि वातावारण तयार गर्न निर्देशिका बनाउने, वर्कसप सञ्चालन गर्न अत्यावश्यक संरचना तयार गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसै क्रममा अर्का सहभागी नेपाल तालीम तथा रोजगार व्यवसायी महासंघका अच्युत नेपालले शिक्षालयलाई पनि लक्षित गरी यस्तै प्रकारको गोष्ठी सञ्चालन गर्न ENSSURE लाई अनुरोध गर्नुभयो ।

हाल व्याप्त कोभिड १९ महामारीका बीचमा कार्यस्थललाई सुरक्षित बनाउने उद्देश्यले ENSSURE ले विभिन्न उद्योगव्यवसायी संघसंस्ठासँगको सहकार्यमा यसअघि यस्तै प्रकारका दुईवटा गोष्ठी सञ्चालन गरिसकेको छ ।