प्रादेशिक वृत्ति—मार्गर्निदेशन तालीम सम्पन्न

विद्यार्थीहरुको वृत्ति—मार्गनिर्देशनमा सहजीकरण गराउने उद्देश्यले प्रदेश १ विराटनगरमा आयोजित १८ वटा विद्यालयका ३४ जना शिक्षकशिक्षिकाहरुका लागि ७—दिने वृत्ति मार्ग—निर्देशन प्रशिक्षक तालीम कार्यक्रम २०७६ कार्तिक ३० गते शुरु भई मंसिर ६ गते सम्पन्न भएको छ ।

तालीमका सहभागीहरु विराटनगर महानगरपालिका, त्रियुगा नगरपालिका, कन्काई नगरपालिका र दुहवी नगरपालिकाले कार्यक्रम सञ्चालनका लागि छनौट गरेका विद्यालयहरुका शिक्षकशिक्षिका हुन् ।

स्वीस सरकार विकास सहयोग  (SDC) को आर्थिक सहयोग र तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा प्राविधिक शिक्षा तथा व्यवसाहिक तालीम परिषद् (CTEVT) द्वारा कार्यान्वयन गरिएको इन्स्योर परियोजना (ENSSURE) अन्तर्गत सञ्चालित विद्यालयमा वृत्ति—मार्गर्निर्देशन कार्यक्रमका लागि उक्त तालीम दिइएको हो । कार्यक्रमका प्राविधिक सहयोगी अन्तरङ्ग साइकोसल रिसर्च एण्ड ट्रेनिङ्ग इन्टिच्युट, काठमाण्डौले तालीमको सहजीकरण गरेको थियो ।

उक्त तालीमले शिक्षकहरुलाई सम्बन्धित विद्यालयका कक्षा ९ का विद्यार्थीहरुको रुची र खुबीको पहिचान गरी उनीहरुको वृत्ति पहिचान गर्ने कार्यमा सहजीकरण गर्ने छन् । यो कार्यक्रम अन्तर्गत जम्मा सात वटा ११० मिनेटका सत्रहरु सञ्चालन हुनेछन् । यसमा छ वटा सत्र कक्षा ९ मा र बाँकी एउटा सत्र कक्षा १० मा सोही विद्यार्थीहरुलाई प्रदान गरिनेछ ।

सात वटा सत्रमार्फत् के हामी तयार छौं, जागिर र वृत्ति, वृत्तिका पाँच सिद्वान्त, वृत्तिखोजी पथ, रुची र खुबी, रुची र खुबीको लेखाजोखाका बारेमा विद्यार्थीहरुलाई सिकाई उनीहरुको आफ्नो वृत्ति पहिचान गर्न सहयोग पुर्‍याइनेछ ।

विद्यार्थीहरुलाई कामको संसार, वैकल्पिक वृत्तिको छनौट र वृत्ति तयारी, वृत्ति शब्दकोश, वृत्ति सम्बन्धी जानकारी तथा नेपालको शैक्षिक प्रणाली कस्तो छ भन्ने समेत जानकारी दिनसमेत यी शिक्षकशिक्षिकाले सहयोग गर्नेछन् ।

यस कार्यक्रमका सहभागी— पोखरिया माध्यमिक विद्यालय, विराटनगरकी रिता बराल र कन्काई माध्यमिक विद्यालय झापाका तुलसीराम खरेल भन्नुहुन्छ, “विद्यार्थीहरुका] एसईईपश्चात् के पढ्ने, के गर्ने, कस्तो काम गर्ने जस्ता अन्योल तथा दुविधाहरुको हल गर्न यो वृत्ति— मार्गर्निदेशन कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ । बच्चाको इच्छा र खुबी पहिचान नगरीकनै कलेज भर्ना गर्ने परिपाटीको समाधानका लागि पनि यो वृत्ति—मार्गर्निदेशनले सहयोग गर्नेछ” ।

समापन कार्यक्रममा बोल्दै पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेम भट्टराईले यस कार्यक्रमबाट विद्यार्थी, परिवार, समाज तथा राज्यकै लागि फाइदा हुनेछ भनी आफ्नो विश्वास व्यक्त गर्नुभपयो ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रम अध्यक्ष, सीटीईभीटी प्रदेश १ का क्षेत्रीय निर्देदशक डा. शिव दाहालले शिक्षकहरु परिवर्तनको संवाहक भएको र उनीहरुले सिकेको सीप विद्यार्थीलाई हस्तान्तरण गर्न सकेमा विद्यार्थीहरुलाई वृत्ति—मार्गर्निदेशन पहिचान गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो” ।

इन्स्योर इटहरी