दुहवी नगरपालिकाले विद्यालयमा वृत्तिमार्ग निर्देशन कार्यक्रम सञ्चालन गर्ने

इटहरी/२०७६ मंसीर १८

दुहवी नगरपालिकाले यही शैक्षिक सत्रमा सामुदायिक विद्यालयका कक्षा ९ का विद्यार्थीहरुका लागि वृत्तिमार्ग निर्देशन कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

यसै क्रममा नगरपालिकाले दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजना र दुहवी नगरपालिकास्थित छ वटा माध्यमिक विद्यालयहरुसँग २०७६ मंसीर १८ गते विद्यालयमा वृत्तिमार्ग निर्देशन कार्यक्रम सम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।

नेपाल सरकार तथा स्वीस सरकार विकास सहयोगको संयुक्त पहलमा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (CTEVT) द्वारा कार्यान्वयन गरिएको इन्स्योर परियोजना अन्तर्गत वृत्तिमार्ग निर्देशन कार्यक्रममार्फत कक्षा ९ मा ११० मिनटका छ वटा सत्र तथा १० कक्षामा सोही अवधिको थप एक सत्र सञ्चालन गरिनेछ ।

नगरपालिकास्थित गोपाल मावि, जनता मावि, विष्णु मावि, सरस्वती मावि, साल्पा मावि, तथा हिमाल आदर्श माविमा नगरपालिकाको आर्थिक सहयोग तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन हुनेछ ।

हस्ताक्षर कार्यक्रममा प्रत्येक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक सहित १८ जनाको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै दुहवी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदारले यस परियोजनाबाट विद्यार्थीहरुलेसाधारण शिक्षा र प्राविधिक शिक्षाका बारेमा जानकारी हासिल गर्ने र आआफ्नो रुची र खुबीको पहिचान गरी आफू सुहाउँदो वृत्तिपथका साथै वैकल्पिक वृत्तिसमेत पहिचान गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

विष्णु माविका प्रधानाध्यापक पुष्पबहादुर कार्की र सरस्वती माविका प्रधानाध्यापक नगेन्द्रलाल देवले कार्यक्रमको प्रशंसा गर्दै यो नितान्त नयाँ र समयको माग अनुसारको कार्यक्रम रहेको विचार व्यक्त गर्नुभयो ।

यस कार्यक्रमबाट छ विद्यालयका कक्षा ९ का ५२३ जना विद्यार्थीहरुले के हामी तयार छौं, वृत्तिका पाँच सिद्धान्तहरु, वृत्तिपथ, कामको संसार, रुची र खुबीको लेखाजोखा, वृत्ति तयारी, वैकल्पिक वृत्ति छनौट तथा वृत्ति शब्दकोशका बारेमा जानकारी प्राप्त गर्नेछन् ।